अध्यक्षको कलम

— भीमबहादुर केसी (निबर्तमान अध्यक्ष)

‘क्षमता विकास, व्यवसायिक संस्था, आजका हाम्रा कार्यभार ! संस्कृति, प्रकृति अनि जैविक विविधता, होमस्टे विकासका आधार !!’ भन्ने नारासहित २१ बुँदे अमलटारी घोषणापत्र जारी गर्दै होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन २०७२ फागुन ८ र ९ गते सम्पन्न भएको थियो । तीन वर्षपछि आज हामी ‘‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान समृद्ध मुलुक निर्माणमा होमस्टेको अभियान’’ भन्ने मूल नाराका साथ नवलपुरको पिप्रहर सामुदायीक होमस्टे ग्राममा २०७५ साल माघ १८–२० मा होमस्टेको ऐतिहासिक दोश्रो राष्ट्रिय सम्मेलनमा आईपुगेका छौं ।

२०५४ सालमा भारतीय सेनाबाट सेवानिवृत्त भएर आफ्नो गृह जिल्ला स्याङ्जाको सिरुबारीमा फर्र्केका पूर्वसांसद क्या. रुद्रमान गुरुङले सुरु गरेको होमस्टे आज नेपालमा ग्रामीण पर्यटनको एउटा महत्वपूर्ण विधा नै बनेको छ । लमजुङ उत्तरकन्या गाविसका तत्कालीन अध्यक्ष प्रेमबहादुर घलेले सुन्दर हिमाली गाउँ घलेगाउँमा सिरुबारीकै अनुशरण गरी देश–विदेशमा व्यापक प्रचारप्रसार गरी होमस्टेको विकास अघि बढाए । नेपाल सरकारले २०६७ साललाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि कार्यविधि नै बनाएर होमस्टेहरूको वैधानिक दर्ता प्रक्रिया थालनी ग¥यो । २०६७ ताका नै काठमाडांैको कपनमा तारागाउँ विकास समिति र नेपाल पर्यटन बोर्डको आयोजनामा पहिलो होमस्टे कार्यशाला गोष्ठी सम्पन्न भयो, जसको तत्कालीन पर्यटनमन्त्री खड्कबहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उक्त गोष्ठीमा दर्ता भएका होमस्टेहरूको संख्या अत्यन्त कम थियो, तर पर्यटन क्षेत्रमा संलग्न विभिन्न सरोकारवाला व्यक्ति र संस्थाहरूको उपस्थिति उल्लेख्य थियो । कार्यशालामा उपस्थित सहभागी प्रतिनिधिहरूलाई कपन सामुदायिक होमस्टेमा बस्ने व्यवस्था गरी होमस्टेलाई बुझ्ने र बुझाउने कार्य गरिएको थियो ।

भ्रमण वर्षको घोषणा गरिसकेपछि विदेशी पर्यटकहरूको आगमन ठूलो संख्यामा हुने अनुमान गरिएको थियो । पर्यटकहरूलाई होटलमा मात्र राख्न सम्भव नहुने भएकाले गाउँ–गाउँसम्म पु¥याएर होमस्टेमा राख्ने योजना बनाइएको थियो । तर अपेक्षा गरिएअनुरूप पर्यटकहरूको होमस्टेमा आगमन भएन । सरकारले औपचारिक रूपमा होमस्टे दर्ता गर्ने प्रक्रिया थालेपछि नेपालको सबैभन्दा पछिल्लो व्यावसायिक पर्यटन विधाका रूपमा नयाँ होमस्टेतर्फ आकर्षित भई हामीजस्ता थुप्रै साथीहरू मिलेर आ–आफ्ना स्थानमा होमस्टे दर्ता गरी अघि बढ्यौं । व्यावसायिक ढंगले यस क्षेत्रमा लागे तापनि अनुभवको कमी र सरकारी उदासीनताका कारण थुप्रै प्रतिकूलता देखा परे । तर, हामीहरू निरन्तर यो अभियानमा लाग्दै आयौं ।

२०७० असार ३० र ३१ मा सुन्दर पर्यटकीय नगरी पोखरामा तारागाउँ विकास समितिले दोस्रो होमस्टे कार्यशाला गोष्ठी आयोजना ग¥यो । तत्कालीन पर्यटन सचिव किशोर थापाले उद्घाटन गरेको गोष्ठीमा मूलतः होमस्टेकर्मीहरूकै सहभागिता थियो । होमस्टेको विकास, बजारीकरण र यसका विभिन्न पक्षमा व्यापक छलफल गरी महत्वपूर्ण निष्कर्ष निकाल्न गोष्ठी सफल भयो । होमस्टे कार्यविधि– २०६७ मा देशभर दर्ता भएका होमस्टेहरूको बीचमा सञ्जाल निर्माण गर्न सकिने उल्लेख भएकाले पहिलो कार्यशाला गोष्ठी कपनका सहभागीहरूले यसबारेमा बहस र छलफल चलाउन थालनी त गरेका थियौं । तैपनि, त्यतिबेला सञ्जाल निर्माण गर्न सम्भव भएन । दोस्रो कार्याशालाको अन्तिम चरणमा हामीले होमस्टेहरूको साझा सञ्जाल निर्माण गर्न पुनः बहस र छलफल चलायौं । फलतः नेपालको ग्रामीण पर्यटनलाई अघि बढाउन होमस्टेहरूको प्रचार–प्रसार, बजारीकरण र सबल नेतृत्व प्रदान गर्न होमस्टे एसोसिएसन नेपाल (होसान) को विधिवत् रूपमा गठन भयो । र, नुवाकोट सामुदायिक होमस्टेका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय तदर्थ समिति बन्यो ।
त्यतिबेला देशभर होमस्टे दर्ता गर्ने लहर चलिरहेको थियो । यसलाई व्यवस्थित, नियमन र नेतृत्व गर्ने जिम्मेवारी नवगठित एसोसिएसनको काँधमा आयो । नेपाल पर्यटन बोर्डको सहयोगमा काठमाडौंको कालीमाटीमा नेतृत्व विकाससम्बन्धी गोष्ठी चलिरहेका बेला संयोजक श्यामसुन्दर श्रेष्ठ अचानक बिमारी पर्नुभयो । लामो समयसम्म उपचार हुँदा पनि उहाँको स्वास्थ्यमा सुधार आउन सकेन । संगठन निर्माणको प्रारम्भिक अवस्थामै हामीले अगुुवा होमस्टेकर्मी र संयोजकलाई गुमायौं । दर्ता प्रक्रियाका लागि विधानमा छलफल चलिरहेका बेला यो दुःखद घटना भयो । यस घटनाले हामीलाई केही समय अलमल बनायो । पछि हामीले सहसंयोजक परशुराम चौधरीलाई संयोजक बनाई संस्थागत कार्यलाई पुनः अगाडि बढायौं । होमस्टेहरूको राष्ट्रिय भेला गरी वैधानिक नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता थियो । त्यसैबीचमा देशमा विनाशकारी भूकम्प आयो । मुलुकले अर्को असामान्य परिस्थति भारतीय नाकाबन्दी सामना गर्नुप¥यो । त्यसैक्रममा २०७२ फागुन ८ र ९ गते नवलपरासीको अमलटारी सामुदायिक होमस्टेमा पहिलो राष्ट्रिय सम्मेलनको आयोजना भयो । तत्कालीन पर्यटनमन्त्री आनन्द पोखरेलले उद्घाटन गर्नुभएको सम्मेलनमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापा, तारागाउँ विकास समितिका अध्यक्ष नारद लुइँटेल, नेपाल पर्यटन बोर्डका सदस्यहरू घनेन्द्रबहादुर श्रेष्ठ र पूर्णबहादुर कुँवर, टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल, नाट्टाका उपाध्यक्ष सीएन पाण्डेलगायत पर्यटन क्षेत्र तथा होमस्टे अभियानलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउँदै आएका संघसंस्था र व्यक्तित्वहरूको उपस्थिति थियो । देशभरिका ४१ भन्दा बढी जिल्लाबाट सामुदायिक र निजी होमस्टेका १३० प्रतिनिधि उपस्थित रहेको यस सम्मेलनले ग्रामीण पर्यटनलाई अघि बढाउने सन्दर्भमा विभिन्न कार्यपत्रहरूमा छलफल गरी पारित ग¥यो । सम्मेलनले सर्वसम्मतिले भीम केसीको अध्यक्षतामा उपाध्यक्षहरू परशुराम चौधरी, केशव बडाल, यदुमणि निरौला, शारदा आाचार्य, बाबुराजा महर्जन, धनिश्वर बस्याल र रामबहादुर चौधरी, महासचिव प्रेमशंकर मर्दनिया थारू, सचिव राजकुमार लामिछाने र कोषाध्यक्ष सुरज बास्तोला रहनुभएको २५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन ग¥यो । एसोसिएसन सदस्यहरूमा पूर्णचन्द्र उपाध्याय, आङमाया शेर्पा, रूपेश गुरुङ, चूडामणि पौडेल, कृष्ण चौधरी, कोसिला मैनाली, चुनु आचार्य, दिलकुमारी राना, गंगादेवी हेजु, सोमलाल महतो, सुन्दरी खतिवडा, मनीष घले, रामकुमार श्रेष्ठ र धनबहादुर आले रहनुभयो ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाईं दिँदै बन्दसत्रका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले देशैभरि नमुना होमस्टे सञ्चालनले पर्यटकहरूलाई आकर्षित गर्ने भएकाले नमुना हुन सबै होमस्टे सञ्चालकहरूलाई आग्रह गर्नुभयो ।

२०७३ वैशाख २५ र २६ गते तारागाउँ विकास समितिले तेस्रो राष्ट्रिय कार्यशाला बर्दियाको डल्ला होमस्टेमा आयोजना ग¥यो । तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको यस कार्यशालामा देशभरिका ४५ जिल्लाका निजी तथा सामुदायिक होमस्टेकर्मीहरूको सहभागिता थियो । होमस्टे दर्ता गर्ने कामबाहेक सरकारका तर्फबाट यस क्षेत्रको विकास र प्रबद्र्धनमा खासै प्रभावकारी भूमिका नदेखिएको यस गोष्ठीका सहभागीहरूको साझा निष्कर्ष रह्यो । किनभने, २०६७ सालमा काम चलाउनका लागि बनाइएको कार्यविधि आजको समयसापेक्ष रहेको छैन । सरकारले होमस्टेमैत्री ऐन, कानुन र नियमहरू बनाउन आवश्यक छ । होमस्टेहरूलाई वर्गीकरण गरी तिनको विकास, प्रबद्र्धन र बजारीकरणका लागि पहल गर्नुपर्ने देखिएको सहभागीहरूले धारणा रह्यो ।
देश–विदेशबाट होमस्टेमा नै बस्नका लागि पर्यटकहरू आउने क्रम जारी छ । बेलायती राजकुमार ह्यारी बर्दियाको डल्ला होमस्टे पुग्नु, अवलोकन गर्नु र हामेस्टेकर्मीहरूसँग सामीप्य देखाउनुले पनि सहजै बुझ्न सकिन्छ कि होमस्टेहरू आकर्षणका केन्द्र बन्दै छन् ।

पूर्वको अन्तुडाँडा, मध्यभागको अमलटारी, पश्चिमको रानाथारू, गाभर भ्याली, डल्ला, हिमाली भेगनिकटको घलेगाउँ, पहाडी भेगका सिरुबारी, माटेपानीलगायतका होमस्टेहरू प्रभावकारी ढंगले सञ्चालित छन् । केहीले त उत्कृष्ट व्यवसाय नै गरिरहेका छन । यो आफैंमा व्यवसाय हो । कम आयस्रोत भएका गाउँलेहरूले प्रत्यक्ष लाभ लिने र होमस्टेमार्फत स्वरोजगार बन्ने व्यवसायीको संख्या बढ्दै छ । वास्तवमा गाउँ पर्यटनको सबैभन्दा महत्वपूर्ण आधार क्रमशः होमस्टे बनिरहेको छ । होटलमा बस्ने पर्यटकले आयातित वस्तुका लागि तिर्ने पैसाभन्दा होमस्टेमा बसेर स्थानीय उत्पादनमा आधारित वस्तुहरूमा पैसा खर्च गर्ने अवस्था बढाउनु जरुरी छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपालका बासिन्दा पर्यटकमैत्री छन्, हाँसेर बोल्छन्, पाहुनालाई भगवान्जस्तै मानेर सत्कार गर्छन् भन्ने छवि बनेको छ र पर्यटक सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा समय बिताउन मन पराउँछन् । प्रदूषणरहित स्थानमा रमाउन, शान्त वातावरणमा रहन, परिवारसँगै बसेर खाना खान, भलाकुसारी गर्न, ग्रामीण जीवनलाई नजिकबाट नियाल्न सहरी क्षेत्रमा आएका पर्यटकहरूका लागि होमस्टे अवसर हो । नेपालमा धेरै किसिमका जातजाति र भाषाभाषी छन् । अझै सामूहिक परिवारको अभ्यास रहिआएको छ । परिवारका सबै सदस्यहरूले एउटै भान्सामा मिलेर खानु, बस्नु र साँझमा नाचगान गरी मनोरञ्जन गर्नु नेपालको ग्रामीण क्षेत्रको मौलिक परम्परा र अभ्यास हो । यसको संरक्षण र व्यवसायीकरण होमस्टेमार्फत सम्भव छ । विदेशी मात्रै होइन, स्वदेशी पर्यटकहरूसमेत यसतर्फ आकर्षित भएका छन् । पछिल्लो समयमा होमस्टेहरू कलेज पढ्ने विद्यार्थीहरूका लागि अध्ययनको विषय नै बनेका छन् । सबै उमेर समूहहरूका लागि घुमफिरको गन्तव्य बनेका छन् ।

नेपालमा शहरीकरण र विदेशी संस्कृतिको प्रवेशसँगै मौलिक बाजा र लत्ताकपडाहरू लोप हुने क्रम बढेको छ । होमस्टे दर्ता भई सञ्चालनमा आएपछि थन्काएर राखिएका बाजा फेरि बजाउन थालिएको छ । पुराना मौलिक कपडाहरूको पुनप्र्रयोग भइरहेको छ । होमस्टेहरू मौलिक संस्कृति संरक्षणको भरपर्दो माध्यम बनेका छन् । गाउँमा रोधी सुरु भएको छ । पन्चेबाजा र नौमती बाजा बज्न थालेका छन् । पाहुनाको स्वागतका लागि मौलिक नाचगान र बाजागाजा बज्न थालेका छन् । होमस्टेमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने समूहमा युवाहरूको बाहुल्य र सक्रियता बढिरहेको छ । युवाहरूले यस्तो जिम्मेवारी लिनु संस्कृति संरक्षणका लागि सकारात्मक पक्ष हो । हामीसँग पर्यटकलाई लोभ्याउने विभिन्न खालका पर्व र जात्राहरू छन् । वर्षायाममा रोपाईँ हिले जात्रा, हिउँदमा होली पर्वमा रंगीबिरंगी भएर पर्यटकहरू रमाएका देखिन्छन् । तीज, दशैं, तिहार र विभिन्न जनजातिका सांस्कृतिक पर्वहरूमा पनि पर्यटकहरूलाई सरिक गराएर मनोरञ्जन र खुसी दिलाउन सकिन्छ । होमस्टे सञ्चालन भएका क्षेत्रमा पर्यटकीय गन्तव्यहरूको विकास तथा प्रबद्र्धन गर्न स्थानीय स्रोत र साधनको प्रयोग गरी पर्यटकहरूलाई सेवा उपलब्ध गराउने, सुरक्षाको प्रत्याभूति गर्ने, स्थानीय उत्पादित वस्तुलाई उपहार वा चिनोका रूपमा बिक्री गर्ने व्यवस्था गर्न र होमस्टेलाई भविष्यमा अझ प्रभावकारी बनाउन सकिन्छ ।

होमस्टे सञ्चालन गर्दै आएका व्यवसायीहरूको जीवनस्तर माथि उठ्नेक्रममा छ, आम्दानी बढ्दै जाँदा अन्य व्यवसायमा लगानी गर्ने क्रमसमेत बढेको छ । होमस्टे सञ्चालकहरू पर्यटन व्यवसायी बन्नेक्रम जारी छ । यसले गर्दा स्वदेशी पुँजीमा नै पर्यटकीय होटल, रिसोर्ट तथा रेस्टुरेन्टहरू खोलिने क्रम बढेको छ । फस्टाउँदै गरेका होमस्टेहरू एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन । नेपाल सरकार, तारागाउँ विकास समिति, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बद्ध विभिन्न संघ संस्थाहरुसँग परस्परमा सहकार्य गरी अगाडि बढ्नुपर्ने खाँचो आज टड्कारो रूपमा देखिएको छ ।
नेपालका होमस्टेहरु ग्रामिण पर्यटनका अगुवा र नेतृत्व कर्ता मात्र बनेका छैनन् । देशभित्र मात्र हैन विदेशमा पनि होमस्टेहरुले आफ्नो भूमिकालाई सक्षम सावित गरेका छन् । सन् २०१३/०१४/०१५ मा होमस्टे नेपाललाई ट्रिप एड्भाइजरले प्रथम घोषणा गरेको थियो । २०१५ मै होराईजन होमस्टे पाल्पा दोश्रो भएको थियो । यो वर्ष पनि भर्खरै बर्दिया होमस्टे, ब्ल्यू माउण्टेन होमस्टे ठमेल, होमस्टे नेपाल कीर्तिपुर र सिटी भ्यू होमस्टे पाल्पा ट्रिप एड्भाइजबाट पुरस्कृत भएका छन् । ट्रिप एड्भाइजरले नेपाल भरीका होटल र होमस्टे मध्येबाट २५ वटालाई बेड एण्ड ब्रेक फास्टमा पाउनाहरुले गरेको रिभ्यूको आधारमा उत्कृष्ठ छनौट गरि अवार्ड दिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *