ग्रामीण पर्यटनको एक उत्कृष्ट गन्तव्य घलेगाउँ

— सूर्य थापा

परिचय

नेपाल अधिकांश गाउँले भरिएको देश हो । यहाँका गाउँहरूमा विविध अनुभव हासिल गर्न पाइन्छ । नेपालकै सहरी क्षेत्रमा रहेका नेपाली या विदेशी पाहुना, सबैका लागि गाउँको बसाइ स्मरणीय क्षण हुन सक्छ । त्यसैले, ग्रामीण पर्यटनबारे अग्रजहरूले गरेका सत्य कुरा बुझ्नु आवश्यक छ । अस्ट्रेलियन नागरिक टमी पार्क र भूतपूर्व गोरखा सेनाका अवकाश प्राप्त लाहुरे क्या. रुद्रमान गुरुङको प्रयासमा २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो । हुन त लमजुङमा पर्यटन विकासमा अन्नपूर्ण पदयात्रा (बेंसीसहर–खुदी–भुलभुले–ङादी–बाहुनडा“डा–घेर्मु–स्या“गे–ताल–धारापानी–बगरछाप–चामे–थोरङ्पास–जोमसोम–पोखरा) को ढोका खोल्ने काम प्रसिद्ध भूगोलविद् एवं लमजुङकै भुलभुले गाविस तरा“चेका बासिन्दा डा. हर्क गुरुङले गर्नुभएको थियो । सिरुबारीमा ग्रामीण पर्यटनको प्रयास अघि बढेपछि पोखराको ब्लुबर्ड होटलमा आयोजित एक छलफलमा उहा“ले भन्नुभएको थियोेः
‘नेपालमा आउने विदेशी पर्यटकहरू अब सहरमा मात्र होइन, गाउँगाउँमा जानेछन् । उनीहरू स्टार होटलमा मात्रै होइन, घरघरमा बस्नेछन् । पर्यटनमार्फत गाउँले जनताको जीवनस्तर उठाउन घरघरमा ‘होमस्टे’ गराउनुपर्छ । पर्यटक आएको दिन ‘होमस्टे’को प्रयोग तिनैले गर्छन् । पर्यटक नभएका दिन आफ्ना पाहुना छोरीज्वाईं, छोराबुहारी र बूढाबूढीले नै त्यसको उपयोग गर्नेछन् ।’ यसरी डा. गुरुङले संस्कृतिमा आधारित ग्रामीण पर्यटन विकास गर्नसमेत सुझाव दिनुभएको थियो । उहाँका यिनै सुझावहरूलाई पछ्याउँदै घलेगाउँमा २०५७ वैशाखमा ग्रामीण पर्यटनले ढोका उघारेको देखिन्छ र हालसम्ममा घलेगाउँ ग्रामीण पर्यटनमा स्थापित गन्तव्यका रूपमा लोकप्रिय भइसकेको छ । अहिले घलेगाउँ संसारमै धेरैले चिन्ने गाउँ हो । यहा“को चिनारी ग्रामीण गुरुङवासीद्वारा गरिएको ग्रामीण पर्यटनको व्यवस्थापनका रूपमा उदाहरणीय नै बन्न पुगेको छ । घलेगाउँमा पर्यटन विकासको प्रयाससँगै अनुसन्धानकर्ता, साहित्यकार, लेखकका साथै विद्यार्थीहरूले यसलाई शैक्षिक भ्रमणको महत्वपूर्ण र अभिन्न गन्तव्य बनाएको देखिन्छ । बेंसीसहरमा विभिन्न सरकारी÷गैरसरकारी निकायले आयोजना गर्ने छलफल÷गोष्ठी÷बैठक र विभिन्न कार्यक्रमहरूसमेत घलेगाउँमा हुन थालेका छन् । एक दशकको अवधिमा घलेगाउँमा देखिएको समग्र परिवर्तनको आधार नै ग्रामीण पर्यटन बनेको छ ।

परम्परागत गुरुङ संस्कृतिमा घरघरमा रहेका पाहुना सुत्ने ‘धन्सार’लाई परिमार्जित र व्यवस्थित गरी आफन्त वा पाहुनाका साथै व्यावसायिक रूपमा पर्यटक राख्न सकिने गरी घलेगाउँमा ग्र्रामीण पर्यटनको प्रक्रिया थालनी भएर अघि बढेको थियो । ‘स्टार होटल’ र सुविधासम्पन्न ‘रिसोर्ट’मा बस्न आउने पर्यटकहरूको आकर्षण घलेगाउँ होइन र हुन सक्दैन । सुन्दर प्राकृतिक परिवेश र मौलिक संस्कृति (प्रकृति र संस्कृतिको समिश्रण) को प्रक्रियाअन्तर्गत दृश्यावलोकन र सांस्कृतिक अध्ययन÷अनुभूति गर्न पर्यटकहरू घलेगाउँसम्म पुग्ने गरेका छन् । घलेगाउँमा ग्रामीण पर्यटन विकासको यो सबभन्दा उल्लेख्य पक्ष रहेको छ । वास्तवमा जीवन्त संस्कृतिको पर्यायवाची बनिरहेको यो मनोरम गाउँमा पुग्नेबित्तिकै पर्यटकले लमजुङ र मनास्लु हिमालको स्वागत मात्र पाउनेछैनन्, गुन्दु्रक र ढिँडो तथा कुरिलोको मौलिक स्वाद पनि पाउनेछन् । गाउँलेहरूकै आँगनमा बसेर उनीहरूलाई मौलिक र सुस्वादिलो खानपिन गराउन पर्यटकलाई खुला निमन्त्रणा गर्न थालेका छन् । यो आलेख मुख्यतया घलेगाउँमा सञ्चालित ग्रामीण पर्यटनमा केन्द्रित गरी तयार गरिएको छ । यसका उद्देश्यहरू निम्नबमोजिम रहेका छन्ः

  • मुलुकमा ग्रामीण पर्यटनको क्षेत्रमा भएका खासखास प्रयासको जानकारी प्राप्त गर्नु,
  • ग्रामीण पर्यटनले गाउँको सामाजिक–आर्थिक विकासमा पारेको प्रभावको अध्ययन गर्नु,
  • घलेगाउँको ग्रामीण पर्यटनमा जनसहभागिताको अध्ययन गर्नु ।

अध्ययन क्षेत्र घले गाउँ

घले (ल्के ले) बोलीमा घले गाउँलाई कोइउले नासा ९प्यष्गभि ल्बकब० भनिन्छ । यो २ हजार ७० मिटरको उचाइमा अवस्थित परम्परागत गुरुङ बस्ती हो, जो मनोरम हिमशृंखलाहरूको काखमा अवस्थित छ । यहाँ पुग्ने पर्यटक वा जोसुकैका आँखा हिमालसँग प्रत्यक्ष र अति निकट भएर जुध्दछन् ।

हुन त घलेगाउँनजिकै (करिब आधा घण्टाको ओरालो पैदलयात्रामा पुग्न सकिने) लामा गाउँ रहेको छ । घलेगाउँबाट ६ किलोमिटर उत्तरतर्फ ३ सय ५० वटा घरको एउटै पहिले गाउँ विकास समिति र अहिले वडा भुजुङ (१ हजार ६ सय मिटर) पुरानो र समृद्ध गुरुङ सांस्कृतिक मूल्य र मान्यताका निम्ति चर्चित छ ।

घलेगाउँमा पर्याप्त वनजंगल रहेको छ, जहाँ बाघ, भालु, मृग, खरायो, स्याल आदि वन्यजन्तु तथा कालिज, लुइँचे, भ्याकुर आदि पन्छीहरू सहजै देख्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संरक्षण क्षेत्रका रूपमा व्यवस्थित गरेकाले यहाँ सिकार खेल्न रोकिएको छ । एक्यापले नै घलेगाउँ–सिक्लेस (कास्की) पदयात्रा रुट पनि व्यवस्थित गरेको छ ।

अध्ययन विधि र सन्दर्भ

यो अध्ययन त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत समाजशास्त्र विषयमा स्नातकोत्तर तहको शोधपत्र हो । ‘घलेगाउँ ः ग्रामीण पर्यटनले सामाजिक–आर्थिक विकासमा पारेको प्रभाव’ शीर्षकको त्यसै शोधकार्यलाई संक्षिप्तमा यहाँ परिमार्जनसहित प्रस्तुत गरिएको छ । घलेगाउँमा ग्रामीण पर्यटन विकासको प्रक्रियामा केन्द्रित यो पहिलो अनुसन्धानात्मक कार्य थियो भन्न सकिन्छ ।

पर्यटन गाउँ

सूर्यास्त र सूर्योदयलाई अवलोकन गर्न दूरबिनको आवश्यकता नै नपर्ने घलेगाउँबाट गोर्खा, कास्की, तनहु“, स्याङ्जालगायतका जिल्लाका मनमोहक पहाडी बस्तीहरू देखिन्छन् । यसरी घलेगाउँ पर्यटन गाउँ र प्राकृतिक भ्यू प्वाइन्ट (टावर) का रूपमा नै अवस्थित छ ।

१. पर्यटन विकासको प्रक्रिया

(क) पर्यटन समितिः अन्नपूर्ण संरक्षण क्षेत्रभित्र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ अन्तर्गत गाविसस्तरीय संरक्षण क्षेत्र व्यवस्थापन समिति हरेक पाँच वर्षमा गठन गर्नैपर्छ । सोही समितिअन्तर्गत पर्यटन क्षेत्रअन्तर्गत पर्यटन प्रबद्र्धनका लागि पर्यटन उपसमिति बनाउने प्रावधान छ । यसै नियामावलीअनुसार घलेगाउँमा एक पर्यटन समिति बनाइएको छ, जुन गाउँस्तरीय पर्यटन समिति हो । यस समितिले पर्यटन व्यवस्थानसँग सम्बन्धित नीतिनियम तय गर्ने काम गर्छ ।

(ख) आमा समूहः पर्यटन व्यवस्थापनका लागि सक्रिय अर्काे समूह घलेगाउँमा रहेको आमा समूह हो । आमा समूहलाई यहाँ पर्यटन व्यवस्थापनमा मुख्य मेरुदण्ड नै भन्न सकिन्छ । आमाहरूले यहाँ खाना पकाएर पाहुनाहरूलाई खुवाउने मात्र होइन, उनीहरूलाई स्वागत तथा बिदाइ गर्नुका साथै घाटुलगायत गुरुङ नाचगान प्रदर्शन गर्ने, गाउँको सरसफाइ गर्ने गरेको समेत देख्न पाइन्छ । त्यसकारण पनि आमा समूह यहाँको पर्यटन विकासको अभिन्न अंग रहेको देखिन्छ ।

(ग) भेडीगोठः घलेगाउँको आकर्षण यहाँ सञ्चालनमा रहेको भेडीगोठ हो, जहाँ अहिले ६ सयको संख्यामा भेडाबाख्रा पालिएका छन् । यो यहाँको मौलिक पक्ष हो र जसको अवलोकनबाट पनि पर्यटकहरूका लागि नौलो अनुभूति हुन्छ ।

(घ) चियाखेतीः घलेगाउँमा आन्तरिक खपतका लागि आवश्यक चिया खेती गाउँमै व्यवस्थित गरिएको छ । र स्थानीय उत्पादनले यहाँको आवश्यकता पूरा गर्ने आपूर्ति सम्भव भइरहेको छ । यो अर्को मौलिक र नमूना काम हो ।

(ङ) निगाला संरक्षणः परम्परागत रूपमा रहेको निगालाको संरक्षण र व्यवस्थित विस्तारले घलेगाउँमा हरियाली बढाउन तथा पशुपालनमा सहयोग र टेवा पु¥याउन मद्दत पुगेको छ ।
(च) घलेको घरः दुई दशक लामो ग्रामीण पर्यटन विकासको प्रक्रियाले घलेगाउँ बदलिएको एउटा दृष्टान्त घलेको घर (Ghale’s Home) बनेको छ । एउटा गोठको दोस्रो तला र पुरानो घरमा प्रेमबहादुर घलेले होमस्टे थाल्नुभएको थियो । अहिले त्यही स्थाननजिकै उहाँले ‘घलेको घर’ नाममा सुविधायुक्त रिसोर्ट बनाउनुभएको छ ।
घलेगाउँमा होमस्टेबारे चर्चा गर्दा त्यहाँको सञ्चालन प्रक्रिया र व्यवस्थापनको उल्लेख गर्नु उपयुक्त ठानिएको छ, जसलाई त्यहाँ एउटा प्रणालीका रूपमा विकास गरिएको छ । त्यही प्रणालीबारे यहा छोटकरीमा चर्चा गरिन्छः

  • (क) स्वागतः जब कुनै पनि पर्यटक घलेगाउँमा पुग्छ, आमा समूहले पर्यटकलाई पूmलमाला र टीकाले स्वागत गर्दछन् ।
  • (ख) पाहुनाहरूको बाँडफाँटः आएका पर्यटकहरूबाट सबैलाई फाइदा होस् भन्ने हेतुले घरघरमा पाहुना बाँडफाँट गरिन्छ वा पाहुनालाई पालैपालो घरघरमा राख्ने गरिन्छ ।
  • (ग) पाहुना कोठाः होमस्टे सञ्चालित घरमा पाहुनाका लागि एक कोठाको व्यवस्था गरिएको छ, जहाँ दुई खाट, दुईदुईवटा बाक्लाबाक्ला सिरक, तौलिया, एउटा सानो टेबल, दुईवटा कुर्सी, सोलार प्यानलबाट निकालिएको बिजुली, एउटा बल्ब, एउटा थर्मस र एउटा रेडियो आदि सामानहरू सजाएर राखिएको हुन्छ ।
  • (घ) मूल्य सूची (मेनु)ः होमस्टे व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सबै ठाउँका होमस्टे र होटलहरूमा पर्यटन समितिमार्फत मूल्यसूची व्यवस्थापन गर्न लगाइएको छ । मूल्यसूची राख्दा पर्यटकलाई मूल्यका बारेमा सहजै जानकारी हुने र बार्गेनिङको झन्झटबाट व्यवसायी पनि मुक्त हुने स्थिति रहेको छ । त्यसैले, घलेगाउँमा पनि पर्यटन समितिले मूल्यसूची अर्थात् मेनु तयार गरी प्रयोगमा ल्याएको छ ।
  • (ङ) सांस्कृतिक कार्यक्रमः आमा समूहले पर्यटकको मागअनुसार प्रायः बेलुुकाको खानापछि सांस्कृतिक कार्यक्रम देखाउँछन्, जसमा पाहुनाहरूलाई त्यत्तिकै सहभागी बनाइएको हुन्छ ।
  • (च) बिदाइः पाहुनालाई त्यहाँ छोटो समयमै बसौंबसौं त लागिरहेकै हुन्छ । तर पनि बाध्यताले बिदाइ हुनुपरेको अनुभवसँगै आमा समूहले लगाइदिएको पूmलमालासहितको बिदाइको क्षण विशेष स्मरणीय हुन्छ ।
  • (छ) सरसफाइ व्यवस्थापनः घलेगाउँ २०६६ सालमै प्लास्टिक निषेधित क्षेत्र बनिसकेको थियो । यहा“ सुरुदेखि नै पर्यटनका लागि सरसफाइ अति महत्वपूर्ण आवश्यकता हो भन्ने कुरा जनतालाई सिकाइएको थियो । यसलाई घलेगाउँवासीले चुस्तदुरुस्त ढंगले लागू गरेका छन् । समयसमयमा आमा समूहले गर्ने सरसफाइ साथै फोहोर संकलन गर्न राखिएका ‘डस्टबिन’हरूले गर्दा पनि गाउँ स्वच्छ देखिन्छ ।

ग्रामीण पर्यटनको प्रभाव

कृषिमाथिको निर्भरतामा ह्रासः ग्रामीण पर्यटनले घलेगाउँको परम्परागत जीवनशैली, आम्दानी, खर्च, वचत र उत्पादन प्रक्रियामा महत्वपूर्ण परिवर्तन ल्याएको छ । परम्परागत कृषि उत्पादनमाथिको निर्भरता क्रमशः घटेको छ । पर्यटनले जीविका सहज बनाउने काम भएको छ । पहिले केवल ५ प्रतिशत मानिसहरूलाई आफ्नो कृषि उत्पादनले वर्षभरि खान पुग्दथ्यो, बाँकी ९५ प्रतिशतका निम्ति जिविका निकै गाह्रो थियो । त्यस स्थितिमा पर्यटन विकाससँगै निकै ठूलो परिवर्तन आएको छ ।
वार्षिक आम्दानीः ग्रामीण पर्यटनको प्रक्रिया थालनी भएको झन्डै दुई दशक पुग्न लाग्दा घलेगाउँवासीको नियमित आम्दानी उल्लेख्य रूपमा बढेको छ । ग्रामीण पर्यटन विकासको थालनी भएसँगैको पहिलो पाँच वर्षभित्रै गरिएको एक अध्ययनमा उत्तरदातामध्ये चार जना अर्थात् १३.३३ को वार्षिक २४ हजार, १२ जना अर्थात् ४० प्रतिशतको ३६ हजार, नौ जना अर्थात् ३० प्रतिशतको ५० हजार र पाँच जना अर्थात् १६.६७ प्रतिशतले ७५ हजारसम्म आम्दानी हुने गरेको थियो । स्थानीय उत्पादन, पर्यटक संख्या र पर्यटकको खर्च गर्ने अभिरुचिका आधारमा प्रस्तुत उत्तरदाताहरूको यस जानकारीमा हिजो अतिरिक्त आम्दानी शून्य रहेका व्यक्तिहरूका घरघरमा पर्यटक बस्न थालेपछि कम्तीमा मासिक २ हजार र बढीमा करिब ७ हजार आम्दानी हुन थाल्यो । अहिले प्रत्येक होमस्टे सञ्चालक घरले सरदर ५० हजार आम्दानी गर्न थालेका छन् । साथै, पर्यटकको उपभोगका लागि उत्पादिन चामल, तरकारी, मासु तथा सेवा–सत्कार र मनोरञ्जन गराउने प्रक्रियामा सक्रिय स्थानीयवासीको आम्दानीमा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । यसरी सिंगो घलेगाउँ लाभान्वित बनेको छ ।

स्थानीय रोजगारी

घलेगाउँमा स्थानीय प्रयत्नमा अघि बढेको पर्यटन विकास सँगसँगै केही रोजगारीका स्थानीय अवसरसमेत उपलब्ध भएका छन् । जस्तोकि सामुदायिक चिया बगान÷नर्सरी सञ्चालनका लागि एक्यापले एक कर्मचारीको व्यवस्था गर्न सहयोग पु¥याएको छ । पर्यटन विकास समितिअन्तर्गत एकजना कर्मचारी राखिएको छ । सामुदायिक वनमा एक जना हेरालु राखिएको छ । सामुदायिक भेंडीगोठमा पाँच जना गोठाला राखिएको छ । साथै, गोठालाका लागि आफ्ना निजी भेंडा सामूहिक भेंडीगोठ रोखबापत लाग्ने शुल्कसमेत मिनाहा गरिएको छ । सामुदायिक भेंडीगोठमा गोठालाहरूको भरणपोषणबापत हुने खर्चको व्यवस्थापन भेडीगोठ समितिले गर्ने गरेको छ ।
स्थानीय घले उत्तरकन्या प्राथमिक विद्यालयमा आमा समूहलगायतको सहयोगमा निजी स्रोतमा तीनजना शिक्षक र एक परिचर राखिएको छ । त्यसका निम्ति स्थानीय तहबाटै खर्च बेहोर्ने गरिन्छ । बेलायतको थ्रोङ्कन गाउँसँगको मितेरी सम्बन्धले शिशु कक्षा सञ्चालन गर्न सहयोग पुगेको छ । यसरी स्थानीय तहमा १२ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध भई स्थानीयले आम्दानी गर्ने अवस्था बनेको छ ।

बितेको २० वर्षमा घलेगाउँ सार्क क्षेत्रमै ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी (२०७३ माघ १६), पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, रक्षामन्त्री विष्णुप्रसाद पौडेल, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत राष्ट्रको प्रमुख जिम्मेवारी र नेतृत्वमा रहनुभएका व्यक्तित्वहरू ‘घलेगाउँ महोत्सव’ लगायत यहाँ आयोजित महत्वपूर्ण कार्यक्रममा सहभागी भएर स्थानीय बासिन्दाहरूलाई उत्प्रेरित गरिसक्नुभएको छ । देशविदेशका हजारौं मानिसहरू यस अवधिमा घलेगाउँ पुगिसकेका छन् । यहाँका कुल १ सय १५ मध्ये हाल ३२ घरमा होमस्टे सञ्चालित छन् । तीमध्ये गुरुङ÷घले ३० र दलित समुदायका दुई घर रहेका छन् । अध्ययन, भ्रमण, सप्ताहान्त, मनोरञ्जनलगायतका प्रयोजनसहित देशभरि र विदेशबाट समेत आन्तरिक र बाह्य पर्यटकहरू यहाँ आउने गरेको पाइन्छ । दुई दशकको अवधिमा यहाँ ग्रामीण पर्यटनका कारण पूर्वाधार निर्माणसमेत उल्लेख्य रूपमा हुन पुगेको छ । बेंसीसहरदेखि करिब २४ किलोमिटर लामो मोटरबाटोको सञ्जालमा जोडिनु, खेल मैदान, समुदायिक भवन, विद्यालय र शौचालय आदि व्यवस्थित हुनु यहाँको उल्लेख्य पक्ष रहेको छ ।
पहिले ‘स्याल भुक्ने डाँडो !’ जस्तै दुर्गम र अविकसित तथा कष्टसाध्य जीवनचर्याका कारण यहाँबाट पोखरा, चितवन, काठमाडौं, हङकङ र बेलायततर्फ बसाइँ सर्ने होडबाजीजस्तै थियो । ‘आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रबाट प्रेरित भई प्रेमबहादुर घलेले घलेगाउँको यसरी चोला बदल्ने प्रक्रियाको थालनी र नेतृत्व गर्नुभयो । फलस्वरूप घलेगाउँ आज देशभरिकै नमूनास्थल बन्न पुगेको छ । २०७५ जेठ १० र ११ गते देशभरिका होमस्टे सञ्चालकहरूको ‘तेस्रो होमस्टे महोत्सव तथा कार्यशाला गोष्ठी’ घलेगाउँमा सम्पन्न भयो । र, २०७५ सालको उत्कृष्ट होमस्टेका रूपमा तारागाउँ विकास समितिले घलेगाउँलाई १ लाख नगदसहित पुरस्कृत ग¥यो । यो महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।

निष्कर्ष

प्रस्तुत अध्ययन घलेगाउँ, लमजुङको ग्रामीण पर्यटनसँग सम्बन्धित छ । यस अध्ययनपश्चात् प्राप्त तथ्यहरूलाई विश्लेषण गर्दा निम्न निष्कर्षमा पुग्न सकिन्छः
ग्रामीण पर्यटनले सामुदायिक÷सामूहिक र संस्थागत आम्दानीका नयाँनया“ क्षेत्र खुल्न पुगेका छन् । आमा समूह, बाबु समूह, चिया बगान, भेडीगोठ, युवा क्लबआदि यसका उदाहरण हुन् ।
परम्परागत मौलिक संस्कृतिको संरक्षण, विकास र प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुगेको छ । पर्यटकका लागि सांस्कृतिक कार्यक्रमको प्रदर्शन तथा त्यसका निम्ति सांस्कृतिक समूहहरूको तम्तयारीका कारण व्यवहारतः सांस्कृतिक संरक्षण र संवद्र्धनमा बल पुगेको छ । साथै, गाउँलेहरूले मौलिक संस्कृतिको संरक्षण गर्दै आफ्नो आम्दानी पनि बढाइरहेका छन् । घाटु नाचको संरक्षण र प्रदर्शन महत्वपूर्ण रहेको छ । यसबाट गाउँमा आम्दानीको भिन्न परिवेश बन्नुका साथै नयाँ–नयाँ सम्भावनाको ढोका खुलेको छ । साथै, पूर्वाधार विकासमा पनि व्यापक प्रगति भएको छ । किनभने, विगत ५० वर्षमा हुन नसकेको र असम्भवजस्तै लाग्ने विकास घलेगाउँमा दुई दशकमा भएको देख्न सकिन्छ ।

सामाजिक चेतना, जागरण, आधुनिकता, आतिथ्यको स्तर र सरसफाइ प्रक्रिया गुणात्मक रूपमा उन्नत भएको छ । घरघरमा शौचालयको निर्माण सम्भव भएको छ भने चोक र गल्लीहरूको आलापालो गरी सरसफाइ गर्ने प्रक्रिया नियमित बन्न पुगेको छ । यसले रोगव्याधिको संक्रमणमा पनि व्यापक रूपमा कमी ल्याएको छ ।

स्थानीय उत्पादनमा वृद्धि गरी सकेसम्म पर्यटकहरूका निम्ति स्थानीय उत्पादनकै प्रयोगमा जोड दिने गरिएको छ । तैपनि, यहाँको स्थायी उत्पादन अत्यन्त न्यून रहेको छ । फलस्वरूप ग्रामीण पर्यटनको प्रक्रियाले तरकारी उत्पादन, चिया उत्पादन, भेंडीगोठ सञ्चालन आदिमार्फत तरकारी, चिया, मासु आदिमा गाउँ आफ्नै उत्पादनमा निर्भर हुन अग्रसर त छ तर यो निकै कष्टसाध्य प्रयास बन्न पुगेको छ ।

गाउँको खानपान र रहनसहनमा व्यापक परिवर्तन आएको छ । पहिले साग वा कुनै तरकारीमा भटमास मिसाएर पकाउने र खाने गाउँले जीवनशैलीमा दाल, भात, तरकारी, अचार, हरियो साग, सलाद र उपलब्ध भएसम्म मासुको परिकार खाने र सन्तुलित भोजनमा ध्यान दिने बानी बढेको छ । पर्यटकका लागि घरघरमा उपलब्ध हुने खानपानका परिकारको प्रत्यक्ष प्रभाव तिनको रैथाने चुल्हो र दिनचर्यामा समेत परेको छ । हरियो तरकारी उत्पादनमा पनि गाउँले निकै प्रगति गरेको छ । फलस्वरूप हरियो साग, आलु, मुला, लसुन, प्याजका साथै काउली, बन्दा र प्राकृतिक रूपमा उपलब्ध कुरिलो, वनतरुल, टिमुर, निउरो, सिस्नो, होलेसागको प्रयोग व्यावसायिक र पारिवारिक स्तरमा पनि बढिरहेको छ । यसको प्रभाव आम्दानी र जनस्वास्थ्यमा समेत सकारात्मक पर्न थालेको छ ।
पर्यटनमा जनसहभागिता घलेगाउँको खास विशेषता रहेको छ । स्थानीय जनसहभागितामा आधारित भई घलेगाउँको पर्यटन विकास प्रगतितर्फ अघि बढेको छ । यसबाट ग्रामीण पर्यटनको प्रक्रियाले जनआधारित–समुदायकेन्द्रित प्रक्रियाबाट ग्रामीण समुदायको आम्दानी, जीवनस्तर, जीवनशैली र मौलिक सांस्कृतिक परम्पराको समेत संरक्षण र विकास गर्न बल पुगेको छ ।

सुझाव

स्थानीय नेतृत्वको पहलकदमीमा घलेगाउँको पर्यटन विकासमा भइरहेको प्रगति र विकास उल्लेख्य रहेको छ । यसबाट पर्यटन विकासमा सहभागितामूलक प्रक्रिया अवलम्बन गर्नु बढी लाभदायी देखिएको छ । यस प्रक्रियालाई स्थानीय मौलिकता र सम्भाव्यताका आधारमा देशभरि विस्तार गर्नु उचित देखिन्छ ।

ग्रामीण पर्यटन विकासको सम्भाव्यता अध्ययन गरी सरकारले लगानी बढाउनुपर्छ । सरकारले खासगरी पूर्वाधार विकास, बाटो, बिजुली, टेलिफोन, संस्कृति, संरक्षण आदिमा लगानी उल्लेख्य रूपमा बढाउन ध्यान दिनुपर्छ ।

घलेगाउँलाई पोखरा, सिरुबारी, घान्द्रुक, बन्दीपुर र अन्नपूर्ण पदयात्रा क्षेत्रका अन्य ग्रामीण पर्यटकीय गन्तव्यहरूसँग अभिन्न र एकीकृत रूपमा आबद्ध गरी व्यवस्थित गुरुयोजनाका साथ पूर्वाधार विकासमा जोड दिनुपर्छ ।

बेंसीसहर पुगेका स्वदेशी/विदेशी पर्यटकहरू घलेगाउँ पुग्ने आकर्षण र पूर्वाधार निर्माणको काम अघि बढाउनुपर्छ । बेंसीसहरबाट गाउँसहर दरबार, बागलुङपानी र घलेगाउँसम्मको पदयात्रा मार्ग विकास गरी व्यवस्थित गर्नुपर्छ ।

लमजुङको बेंसीसहर–घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ तथा कास्की जिल्लाको पाखुरीकोट–बेगनासतालसम्मको गुरुङ सम्पदा मार्ग ९न्गचगलन ज्भचष्तबनभ त्चबष्०ि सम्बन्धी गुरुयोजना–२०६२ को कार्यान्वयनमार्फत सडक सञ्जालले अन्नपूर्ण पदयात्राको दूरी र अवधि घटिरहेको स्थितिमा वैकल्पिक पदयात्रा मार्गतर्फ पर्यटकहरूलाई आकर्षित गर्नुपर्छ ।
अन्नपूर्ण पदयात्राको विकल्पमा घलेगाउँ–घनपोखरा–दूधपोखरी–नामरुङ–स्पुर–थानचोक–चामे पदयात्रा मार्ग विकास गर्नुपर्छ । यो पदयात्रा मार्ग तीन दिन लामो हुन सक्ने र घलेगाउँ यसको प्रवेशबिन्दु बन्न सक्ने प्रचूर सम्भाव्यता रहेको छ । यसले उन्नत सांस्कृतिक मूल्य–मान्यता, परम्परा र सभ्यताका धनी गुरुङ गाउँहरूलाई एकीकृत पर्यटकीय प्रणालीमा आबद्ध गर्न सम्भव हुन्छ ।

घलेगाउँमा पर्यटकको लागि आवास र खानपानको होमस्टे प्रक्रियालाई अझ विस्तार गर्नु, सेवाको स्तर तथा परम्परागत मूल्यको समिश्रणमा जोड दिनु आवश्यक छ । दलितहरूलाई समेत नमूनाका रूपमा यस प्रक्रियामा आबद्ध गरेर प्रत्यक्ष रूपमा लाभान्वित गर्नु÷गराउनु जरुरी छ । यो क्रम एकहदसम्म आरम्भ भइसकेको छ ।

गाउँमा सहकारी अभियानको अभ्यास, विकास, विस्तार र संस्थागत प्रक्रिया अवलम्बन गर्न ध्यान पु¥याउनु आवश्यक छ ।
युवाहरूलाई ग्रामीण पर्यटनको प्रक्रियामा आकर्षित र परिचालित गर्न आधुनिक सूचना प्रविधि (आईटी) र अन्तर्राष्ट्रिय भाषा (अङ्गे्रजी) समेतको पर्यटकीय प्रयोगमा ध्यान दिई आवश्यक दक्ष र शिक्षित जनशक्ति विकास गर्नुपर्छ ।
पर्यटकका निम्ति मनोरञ्जनका नया“नया“ क्षेत्र (घोडसवारी, टेलिस्कोपबाट समेत सूर्योदय र हिमशृंखलाहरूको अवलोकन, चक्रपथको विकास र चियाको आन्तरिक र विदेशमा समेत बजार विस्तार गर्ने गरी उत्पादन र बजारीकरणको प्रक्रिया अघि बढाउनुपर्छ ।
घलेगाउँमा ग्रामीण पर्यटन विकासको दीर्घकालीन गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ, जसले सार्क पर्यटन गाउँका रूपमा यसको ख्यातिसँगै पूर्वाधार विकास पनि तदनुरूपकै स्तरीय बनाउन सकिन्छ ।

अन्त्यमा,

अहिलेसम्म घलेगाउँमा करिब ३ लाख आन्तरिक र १० हजार हाराहारी विदेशी पर्यटकहरू पुगेको मोटामोटी तथ्यांक रहेको छ । ग्रामीण पर्यटनको माध्यमबाट समष्टिमा वार्षिक २ करोड हाराहारी आम्दानी गर्न थालेको छ । स्थानीय उत्पादनको बिक्रीलगायत रकम यसमा समावेश छैन । २०७४ सालमा घलेगाउँ पर्यटन विकास समितिले राज्यलाई ६० हजार रूपैयाँ राजस्व नै तिरेको पाइन्छ ।
यसरी घलेगाउँको मुहार त बदलिएको छ, तर ठोस गुरुयोजना तर्जुमा गरी तदनुरूप ‘घुम’ र ‘घर’को परम्परागत पहिचान जोगाउँदै व्यवस्थित निर्माण, पुनर्निर्माण हुन सकेको छैन । सिंगो गाउँलाई ‘नीलो रङ’को जस्ताको छाना तथा ‘सेतो रङ’को भित्तामा सजाउन सक्दा यसको अझ राम्रो हुनुका साथै भिन्नता र मौलिकता पनि कायम हुन सक्थ्यो । गाउँपालिका, प्रदेश सरकार र संघीय मन्त्रालयसँग समन्वय गरी घलेगाउँ पर्यटन विकास समितिले यो काम गर्न ध्यान दिनु जरुरी छ ।

सन्दर्भ–सामग्री

विष्ट, डोरबहादुर (२०३०)– ‘सबै जातको फूलबारी’, साझा प्रकाशन, काठमाडौं ।
राष्ट्रिय योजना आयोग (२०३२)– ‘पा“चौं योजना’, नेपाल सरकार, राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौं ।
राष्ट्रिय योजना आयोग (२०४९)– ‘आठौं योजना’, नेपाल सरकार, राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौं ।
राष्ट्रिय योजना आयोग (२०५५)– ‘नवौं योजना’, नेपाल सरकार, राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौं ।
दवाडी, धनञ्जय (२०५८)– ‘लमजुङ जिल्लाको सांस्कृतिक परिचय’– लमजुङको सेरोफेरो, वर्ष २, अंक २, काठमाडौं ।
घिमिरे, प्रभाकर (२०५८)– ‘घलेगाउँः तेस्रो पर्यटन गाउँ’, कोसेली, कान्तिपुर दैनिक, काठमाडौं ।
घले, खिम (२०५९)– ‘पर्यटकका लागि नया“ गन्तव्य घलेगाउँ’, कान्तिपुर दैनिक, काठमाडौं ।
बराल, बालकृष्ण (२०५८)– ‘लमजुङको पर्यटकीय गाउँ–घलेगाउँ’, लमजुङको सेरोफेरो, वर्ष २, अंक २, काठमाडौं ।
शाक्य, कर्ण (२०६१)– ‘सोच ः एउटा आत्मविश्वास’ पन्ध्रौं संस्करण, काठमाडौं, नेपाल नेचर डट कम ।
डेसेन, मेरी÷वन्त, प्रत्युष (सन् २००४)– ‘नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन’, ललितपुर, प्रथम संस्करण, सोसल साइन्स बहाः ।
जोशी, अंगुरबाबा (२०६२)– ‘तारागाउँ विकास समितिको प्रतिवेदन’, रजत जयन्ती स्मारिका, तारागाउँ विकास समिति, काठमाडौं ।
पुरी, उद्धव (२०६३)– ‘पर्यटन र विकास’, काठमाडौं, तलेजु प्रकाशन ।
गुरुङ, डा. हर्क (सन् २००६)– ‘विषय विविध’, प्रथम संस्करण, काठमाडौं, हिमाल किताब ।
गुरुङ, हर्क (सन् २००७)– ‘मैले देखेको नेपाल’, प्रथम संस्करण, काठमाडौं, हिमाल किताब ।
खनाल, झलनाथ (२०६४)– ‘घलेगाउँको डायरी’, शब्द संयोजन मासिक, काठमाडौं ।
नेपाल सरकार (२०६५)– ‘पर्यटन नीति’, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं ।
श्रेष्ठ, डा. तीर्थबहादुर (२०६६)– ‘विश्व सुन्दरीझैं उभिएकी अन्नपूर्ण’, गोरखापत्र दैनिक ।
थापा, झलक (२०६६)– ‘मैले बुझेको पोखरा’, नागरिक दैनिक, काठमाडौं ।
अधिकारी, कञ्चन (२०६६)– ‘घमाइलो घलेगाउँ’, नागरिक दैनिक, काठमाडौं ।
श्रेष्ठ, वसन्ती (२०६६)– ‘जुका टिप्दै घलेगाउँ’, नागरिक दैनिक, काठमाडौं ।
अधिकारी, भरतमोहन (२०६६)– ‘नौ स अभियानको पुनःजीवन र योजनाबद्ध ग्रामीण विकास’, नवयुग मासिक, नेकपा (एमाले), केन्द्रीय कमिटीको राजनीतिक पत्रिका, काठमाडौं ।
केसी, कृष्ण (२०६६)– ‘सार्क भिलेज गाउँमा जम्यो भ्यालेन्टाइन डे’, नेपाल समाचारपत्र दैनिक, काठमाडौं ।
केसी, कृष्ण (२०६६)– ‘आधा दर्जन ग्रामीण पर्यटन गाउँ हु“दै हरित सडक निर्माण’, नेपाल समाचारपत्र दैनिक, काठमाडौं ।
गृुरुङ, आश (२०७५)– जसले बनाए घलेगाउँ, कान्तिपुर दैनिक, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *